डोटी बहुमुखी क्याम्पसका नव निर्मित शैक्षिक तथा प्रशासनिक भवन उद्घाटन गरिएको छ । २०८२ मंसिर २९ गते सिलगढीमा एक कार्यक्रमका बिच त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका दुवै भवनको उद्घाटन गरिएको हो ।२०७९ भाद्र ३१ गते सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गरेको २४ कोठे ४ तले सुविधा सम्पन्न शैक्षिक भवन र २०८० जेठ २१ गते क्याम्पस प्रमुख दिलानन्द जोशीद्वारा शिलान्यास गरिएको ९ कोठे ३ तले प्रशासनिक भवनको उद्घाटन गरिएको हो । शैक्षिक भवनको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले र प्रशासनिक भवनको त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. केदार प्रसाद रिजालले उद्घाटन गर्नुभएको हो । उद्घाटन हुनु पूर्व निर्माण सम्पन्न भएका भवनहरू सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले उपकुलपति अर्याललाई र उपकुलपतिले क्याम्पस प्रमुख दिलानन्द जोशीलाई हस्तान्तरण गर्नुभएको थियो । उद्घाटन भएको शैक्षिक भवन रु.५ करोड ७१ लाख र प्रशासनिक भवन रु.३ करोड ७ लाखमा निर्माण सम्पन्न भएको हो ।डोटी बहुमुखी क्याम्पसको नव निर्मित शैक्षिक तथा प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा. अर्यालले शैक्षिक क्षेत्रको सुधारमा लागि रहेको बताए ।त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका क्याम्पमा जनशक्ति अभाव रहेको बताउँदै आगामी दिनमा परिपूर्ति गर्न लागि रहेको बताउनुभयो । भवन निर्माण सँगै गुणस्तरीय शिक्षाका लागि सबै लाग्नु पर्नेमा उहाँको जोड रहेको थियो । उक्त कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा . रिजालले श्रोत र साधनले भ्याएसम्म आगामी दिनमा क्याम्पसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै उक्त कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव डा. रेग्मी प्रदेशलाई स्वस्थ्य र समृद्ध बनाउन प्रदेश सरकार लागि रहेको बताउनुभयो ।